बिहीबार
२७ चैत
२०७६

'हाम्रो भान्छाकोठादेखि पूजाकोठासम्म तामाको प्रयोगबारे चाहिँ मैले गहिरो गरी सोचेको रहेनछु'

बुधबार चैत ५, २०७६/ Wednesday 03-18-20

एकछिन नमस्ते, शवदाह, दाहसंस्कारपछि अनिवार्य स्नान र नयाँ शुद्ध कपड़ा, किरियापुत्रीको दुई हप्ते क्वारेन्टीन, अग्निस्पर्शजस्ता विषयलाई बिर्सिदिनुहोस् । यसमा छुट्टै अध्ययन र बहस होला ।हाम्रो भान्छाकोठादेखि पूजाकोठासम्म तामाको प्रयोगबारे चाहिँ मैले गहिरो गरी सोचेको रहेनछु ।


अहिले अध्ययनहरू हेरे र सुनेपछि थाहा भयो, तामामा हुने antimicrobial तत्त्वहरूले यसको सम्पर्कमा आउने ९९% सम्म रोगाणुहरूलाई दुईघण्टामैं नष्ट गरिदिने रहेछन् । कोरोनाभाइरस फलाममाथि तीन दिनसम्म बाँच्नसक्ने विभिन्न अध्ययनले देखाएको छ । तर तामामाथि भने बढीमा ४ घण्टा ती भाइरस बाँच्न सक्ने रहेछन् ।

National institutes of Health (NIH) अमेरिकाको गत शुक्रवार छापिएको रिसर्च रिपोर्ट अनुसार कोरोनाभाइरस स्टिल र प्लास्टिकबाट बनेका भाँडा, रेलिंग, बेड या कुनै सतहमा तीन दिनसम्म बाँच्न सक्ने रहेछन् । कार्डबोर्डमा २४ घण्टासम्म र तामाबाट बनेका समान सरफेसमा भने जम्मा ४ घण्टा भाइरस बाँच्न सक्ने अध्ययनले देखाएको छ ।

कोरोनाभाइरस सङ्क्रमणको मुख्य आधार अझैसम्म पनि सङ्क्रमितले खोक्दा मुखबाट निस्किने स्थुल या सूक्ष्म खकार/थुकका ओसिला थोपा (Droplets) नै मानिएको छ । एकपल्ट खोक्दा तीन हजारसम्म यस्ता थोपा मुखबाट बाहिर निस्किन सक्ने र तिनै थोपामार्फ़त भाइरस बाहिर निस्किने रहेछन् । धेरै जसो त्यस्ता थोपा केही बेरमैं वरपरको सतहमा झर्ने भए पनि अतिसूक्ष्म थोपा हावामैं अडिने रहेछन् । त्यसरी हावामा घोलिएका भाइरस चार घण्टासम्म बाँच्न सक्ने र त्यो हावामा स्वस्थ व्यक्ति पुग्ने बित्तिकै सङ्क्रमित बन्ने जोखिम हुँदो रहेछ ।

सतहमा झरेका भाइरसहरू सङ्क्रमित व्यक्तिले प्रयोग गरेका या नजिक रहेका कुनै पनि वस्तुमा टाँसिन सक्ने र ती हातमार्फ़त हाम्रो स्वासप्रश्वासमा पुग्न सक्ने रहेछन् । नियमित हात धुनुले यो जोखिम कम गर्छ ।

तामाको यो गुणले गर्दा अहिले ल्याबहरू, सङ्क्रमणको उच्च जोखिम हुने क्षेत्रहरूमा तामाको प्रयोग बढ्दो रहेको पनि पढ़ियो । हाम्रा पुर्खाले यो धेरै पहिले बुझिसकेका रहेछन् ।

धेरैजसो रोगका कीटाणु पानीमार्फ़त नै गाउँघरमा फैलिने गरेको हामीलाई थाहै छ । तामाको गाग्रीमा रातभर राखिएको पानीमा धेरै जसो कीटाणु नष्ट हुने रहेछन् । शायद यही पानी शुद्धीकरणले हजारौँ वर्ष हाम्रो पुस्तालाई सयौं खाले सङ्क्रमण बाट बचाउँदै ल्याएको थियो ।

हाम्रो पूजाकोठामा तामाको महत्त्व र प्रयोगबारे सबैलाई थाहा नै छ । फलाम या शिसाबाट बनेका भाँडालाई जुठो मानेर अहिलेसम्म पनि त्यसमा पानी नपिउनेहरू गाउँमा धेरै छन् । कुनै पनि पूजा शुरू गर्नुअघि तामाको पञ्चपात्रमा रहेको जल तामाकै आचमनी प्रयोग गरेर नाभीसम्म्म पुग्ने गरी आचमन गर्नु अनिवार्य मानिन्छ । रोचक त के छ भने स्वयं भगवान्लाई आह्वान गरेर सुपारी या मूर्तिमा प्राण प्रतिष्ठा गरेपछि पनि पहिलो काम हात-खुट्टा धुने, तामाकै पात्रमा रहेको शुद्ध जल र पञ्चामृतले स्नान गराउने, नयाँ कपड़ा फेराउने र त्यसपछि बल्ल पूजा र प्रसाद चढाउने पद्धति छ । खाना खुवाउनुअघि विभिन्न जडीबुटी र वनस्पतिबाट बनेको रोगाणुनाशक धूप सल्काउनु अनिवार्य मानिन्छ । सरदर पूजा यत्ति हो ।

यो हाम्रै संस्कृतिको प्रतिच्छाया हो । म आफै पनि शुद्ध कपड़ा फेरेर भान्छा कोठामा पुग्ने गर्थेँ । जुत्ताचप्पल मन्दिर या घरबाहिरै खोल्ने गर्थेँ । ननुहाई मैले भान्छाभित्र जाने कुरो त टाढ़ाको भयो, पानी भर्न पनि पाइन ।

हाम्रो संस्कृति विज्ञानका रेखीय सूत्रमा बनेको थियो भन्ने दाबी मेरो छैन । तर, जति गहिरो गरी सोचिन्छ त्यति यो बकबासमात्र चाहिँ पक्कै थिएन भन्ने लाग्छ । लाग्छ, हरेक समयका मान्छेले आफ्नो पुस्तालाई कसरी बचाउने र अघि बढाउने भन्ने उपाय र कला जानेकै थिए । तपाईंलाई के लाग्छ ?