सोमबार
२४ चैत
२०७६

पशुपतिमा फूल बेच्ने वृद्धाले भनिन्– बाबु मास्क नखोलौं कोरोना लाग्न सक्छ (फाेटाेफिचर)

बिहीबार चैत ६, २०७६/ Thursday 03-19-20

काठमाडौं । कोरोनाभाइरसको त्रास विश्वमा जस्तै नेपालमा पनि परेको छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसका कारण हरेक क्षेत्रलाई असर गरेको छ । विश्व अर्थतन्त्रमा प्रभाव पारेको छ भने नेपालमा सानातिना व्यापारी पनि मर्कामा परेका छन् । 


बुधबार सरकारले धार्मिक, पर्यटक, सांस्कृतिक क्षेत्रमा कुनै कार्यक्रम नराख्न र २५ जनाभन्दा धेरै जम्मा भएर नबस्न भनेको थियो । यसको प्रभाव बिहीबार दिउँसो पशुपतिनाथ मन्दिरमा परेको छ । 

बिहीबार दिउँसो पशुपतिनाथ मन्दिर परिसरको वातावरण सुनसान थियो । मानिसहरुको बाक्लो भीड भइरहने पशुपतिमा न्यून संख्यामा मानिस देखिएका थिए । पशुपतिमा १७ वर्षदेखि फूल बेच्दै आएको बताउने एक वृद्धाले मानिसको चहलपहल घटेको बताइन् । 


मास्क लगाएर बसेकी उनले कुरा गर्ने क्रममा भनिन्, ‘मास्क नखोलौंँ बाबु, कोरोनाभाइरस लाग्न सक्छ ।’ रामेछाप स्थायी घर रहेको बाहेक थप बताउन नचाहेकी उनी निकै सचेत देखिन्थिन् । 

दैनिक पाँच सयभन्दा बढीको नाफा हुने गरेको जानकारी दिएकी उनले अहिले दैनिक एक सय रुपैयाँ पनि कमाइ नभएको भन्दै दुःख व्यक्त गरिन् । 


विश्वका एक सय ७६ देशमा फैलिको कोरोनाभाइरसका कारण करिब नौ हजार जनाले ज्यान गुमाइसकेका छभने दुई लाख २१ हजारबढी संक्रमित भएका छन् । साथै ८६ हजार संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।