सोमबार
२४ चैत
२०७६

कोरोना : केही दिन इटाली नै केन्द्रमा रहला, तर अमेरिका र बेलायतले छिटै उछिन्ने सङ्केत देखियो

आइतबार चैत ९, २०७६/ Sunday 03-22-20

अझै केही दिन इटाली नै केन्द्रमा रहला, तर अमेरिका र बेलायतले छिटै उछिन्ने सङ्केत देखियो ।मानवअधिकार र वैयक्तिक स्वतन्त्रताको नाममा बेलायत यति टाढ़ा आइसकेको रहेछ कि 'टोटल लकडाउन' फलामको चिउराजस्तो बनेको देखिन्छ । रेस्टुरेन्ट र पब बन्द गर्नुभन्दा पहिले कामदारको तलब सरकारले बेहोर्ने निर्णय गर्नुपर्ने अवस्था छ ।


इकोनोमी बचोस् भनेर ब्याङ्कले ब्याज लगभग शून्यमैं झारिसक्यो । साना बिजनेशले एक वर्ष बिजनेश-ट्याक्स तिर्नुनपर्ने भयो । होमलोनको किस्ता तिर्न नसके तीन महिनाका लागि छूट पाउन सक्ने व्यवस्था भयो । झन्डै पाँच सय खर्बको आर्थिक प्याकेज घोषणा भइसक्यो । दिनदिनै ओरालो लागेको शेयर बजार स्थिर बन्दै गयो ।

तर, यो सङ्क्रमणको रकेट-स्पिड कसरी कम गर्ने भन्ने क्लू चाहिँ भेटिएको छैन । हस्पिटलको हाल बेहाल छ । यति धेरै केश आएका छन् कि भएका उपकरणले धान्न सकेका छैनन् । जनशक्तिको अभाव त पुरानै भयो । हस्पिटलमा काम गर्ने जति सबै सङ्क्रमित त हुने होइनन् भन्ने डर छ । अझैसम्म एअरपोर्ट बन्द गर्न सकेको छैन । जनजीवन थोरै बदलिएको छ तर सामान्य नै छ । पब्लिक ट्रान्सपोर्ट चलेकै छन् । सरकारले हात धोऊ र घरमैं बस त भनेको छ तर सुन्ने कसले ? विश्वभर आफ्ना नागरिक कतै फसेका र कतै सङ्क्रमित भएका छन् । तिनलाई त्यतै बस भन्न पनि मिलेन ।

विश्वयुद्धकालीन कानुन अनुसरण गरेर लकडाउन गर्ने भन्ने सुनिन्छ तर त्यो कहिले हुने भन्ने पत्तो छैन, यता सङ्क्रमणको दर भूसको आगोजस्तो दन्केको दन्क्यै छ । पहिले बाँचियो भने पो अधिकारको कुरो आउँथ्यो र !