सोमबार
२४ चैत
२०७६

आजबाट चैते दशैं सुरु, महामारी र विपत्तिबाट जोगिन घरमै बसेर मनाऔं

बुधबार चैत १२, २०७६/ Wednesday 03-25-20

काठमाडौं । यस वर्षको चैत दशैं बुधबारबाट सुरु भएको छ । हरेक वर्ष जस्तै यस वर्षको चैत्र नवरात्र बुधबारदेखि सुरु भएको हो । चैत्र शुक्लको प्रतिपदादेखि पूर्णिमासम्मको समयलाई नवरात्र भनेर भन्ने गरिएको छ । चन्द्रमास अनुसार यसै दिनदेखि नयाँ वर्ष पनि प्रारम्भ हुनेछ । विशेष गरि प्रतिपदादेखि रामनवमी सम्मको समयलाई विशेष महत्त्व रहेका शास्त्रमा उल्लेख गरिएको छ । शक्तिको उपाशना तथा शक्ति आर्जन गर्नका लागि चैत्र  नवरात्रलाई विषेश रुपमा लिने गरिएको छ । 


कुनै पनि महामारी तथा विपत्तिबाट मुक्ति पाउनका लागि नवरात्रमा गरिने अनुष्ठानलाई  विशेष महत्त्वका साथ लिने गरिएको छ । हरेक मानिसहरूको घरमा माता भगवतीको स्थापना गरि नौ दिन सम्म विशेष प्रकारको अनुष्ठान गर्न सकियो भने कुनै पनि प्रकारका विपत्ति नरहने शास्त्रविद् हरुले जानकारी गराएका छन् । देवी भागवतमा महा विपत्तिबाट बच्नका लागि भनेर विभिन्न मन्त्र हरुको रचना समेत गरिएको शास्त्रमा उल्लेख गरिएको छ ।

नेपाल तन्त्रात्मक वैदिक, सनातन हिन्दु भूमि  हो । यहाँ पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी पूजा तथा आराधना गर्ने नियम रहिआएको छ। शक्ति आर्जन गर्नका लागि बर्षमा चार पटक  दुर्गा भवानीको पूजा तथा आशीर्वाद प्राप्त गर्नका लागि नवरात्र पूजा तथा अनुष्ठान गर्ने शास्त्रीय विधान रहिआएको छ । नवरात्रको दिनदेखि  देवी स्थापना गर्ने स्थान या पूजा कोठामा शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक भगवतीको स्वरुप प्रतिमा या मूर्ति स्थापना गरि नौ दिन सम्म विभिन्न देवीको रुपको पुजा तथा पाठ पारायण गरेमा सम्पूर्ण मनोकामना पूर्णहुने कुरा मार्कण्य पुराणमा उल्लेख गरिएको छ ।  

नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना पश्चात् प्रसाद स्वरूप टीका लगाएमा धर्म, अर्थ, काम र मोक्ष प्राप्ति  हुने कुरा देवीभागवतमा बताइएको छ।  आषाढ शुक्ल, आश्विन शुक्ल, माघ शुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन्। यी चार नवरात्रहरूमा आषाढशुक्ल र माघशुक्लपक्षका तिथिहरुलाई गुप्तनवरात्र भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् । 

नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानी पूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । “ यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्“ । अर्थात् जुन जुन कामनाले भगवतीको आराधना गर्दछन्  ती सबै कामना शिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ । चैत्र शुक्ल प्रतिपदादेखि राम नवमीका  दिनसम्म विशेष प्रकारले पूजा तथा उपाशनाको नियम रहिआएको छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

नौ दिनसम्म कुन कुन दिन कसको र के के सामग्री अर्पण गरी पूजा आराधना गर्ने 

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट माटो या गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा भगवतीको स्थापना गर्ने स्थानमा विधिपूर्पक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ ।सोही कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षेडशोपचारले आवाहन पूजन हुने गर्दछ । यसरी पूजा गर्ने नियम रहिआएको छ। भगवती दुर्ग देवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।   

पहिलो दिन : यदि लामो आयु र कुनै प्रकारको दीर्घ रोगबाट बच्नका लागि पहिलो दिन शैलपुत्रीको पूजा आराधना र गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आयूआरोग्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ । 

दोस्रो दिन  : नवरात्रको दोस्रो दिन कुनै पनि प्रकारको महामारी रोग या  बन्धनबाट मुक्ति पाउनका लागि ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश भई विश्वको नै कल्याण हुने  उल्लेख गरिएको छ। 

 तेस्रो दिन : नवरात्रको तेस्रो दिन  दुःख कष्टबाट मुक्ति तथा विभिन्न रोगबाट छुट्करा पाउनका लागि   लागि गाइको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैँभरि रहन्छ भन्ने कुरा बताइएको छ । 

चौथो दिन : चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा या  मालपूवा दान गरेमा शुभ सन्देश प्राप्ति  हुने कुरा उल्लेख गरिएको छ । 

पाँचौ दिन :पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यपार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यसदिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ । 

छैटौँ दिन : छैटौं दिन माता कात्यायनीको आकर्षण, सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि कात्यायनी माताको पूजा आराधना गरेमा सफल हुने कुरा बताइएको छ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्य्सिद्धि हुने कुरा पनि बताइएको छ । 
७. सातौँ दिन 
कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकाराका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने कुरा बताइएको छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ । 
८. आठौँ दिन
महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्ने कुरा बताइएको छ। उक्तदिन  महागौरीको पूजा आराधना गरेमा सन्तानसुख मिल्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

 नवौँ दिन : घटस्थापनाको नवौँ दिन अर्थात् नवमीका तिथिका दिन घ्यू चढाएर पूजा आराधना गरेमा अकालमृत्युबाट बच्नको लागि र कुनैपनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्नका लागि सिद्धिदात्री भगवतीको पूजा आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ ।  

यसरी स्थापना गरिएको कलशको जलले शान्ति तथा अभिषेक गरेमा  भगवती प्रशन्न हुनुहुन्छ भन्ने र समस्त मनोकामना पूर्णहुने  शास्त्रमा उल्लेख गरिएको छ घटस्थापनाको नवौ दिन भगवान् राम चन्द्रको जन्मोत्सव मनाउने र रामको पुजा गर्ने पनि शास्त्रमा उल्लेख गरिएको छ। यसरी शक्तिको उपाशना बाट जन्मिएका रामले समस्त प्राणीको रक्षा तथा असत्य माथि सत्यको विजय प्राप्ति भगवान् रामले गर्नु भएको थियो । अहिले विश्वमा भैरहेको महामारीबाट बिजय प्राप्ति होस भनी  हामी सबैलेआ( आफ्नो घरमा बसेर धारधना गर्नु नै सर्वाेहित कारी रहने छ ।

(लेखक ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल दक्षिण एसियाली ज्योतिष महासंघका नेपालका महासचिव हुन् ।)