सोमबार
२४ चैत
२०७६

एनआरएनएले एक करोड बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने

बुधबार चैत १२, २०७६/ Wednesday 03-25-20

काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएनए)ले कोरोनाभाइरस नियन्त्रणका लागि नेपाल सरकारलाई एक करोड बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहअनुसार सरकारलाई सहयोग गर्ने एक करोड रुपैयाँको स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेको जानकारी दिए । 


स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण (पीपीई) र परीक्षण किट चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने उनले बताएका छन् । 

ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको भन्दै अध्यक्ष पन्तले  विश्वभर फैलिएको संकटको प्रतिरोधमा आफू पनि एक साथ रहेको बताएका छन् । उनले भनेका छन्, ‘आशा गरौँ, यस युद्धमा हामी चाँडै विजयी बन्नेछौँ ।’