बिहीबार
२७ चैत
२०७६

ए, सरकार ! यस दिशामा अलि होइन, पूर्ण संवेदनशील बनिदिनु पर्यो !

बुधबार चैत १२, २०७६/ Wednesday 03-25-20

आङ् जिरिङ्ङ हुने सुन्दा पनि ! टेकुको सरूवा रोग अस्पतालमा उपचाररत दर्जनौंमध्ये कुनै एकमा कोरोनाभाइरस पोजिटिभ देखियो । सबैभन्दा पहिले अस्पताल र सम्बन्धित स्वास्थ्यकर्मीले यो खबर पाउनुपर्ने थियो । ताकि कन्फर्म्ड बिरामीलाई तुरुन्तै अन्यबाट अलग्याउन र स्वास्थ्यकर्मीलाई आवश्यक पीपीईको व्यवस्था गर्न सकियोस् ! तर तिनले २४ घण्टापछि मात्रै पत्रपत्रिका र स्वास्थ्यमन्त्रीको विज्ञप्तिबाट थाहा पाए । त्यो सूचना पनि पछि सच्चियो ।


जुन हस्पिटलले नमुना पठाएको थियो, उसैलाई रिजल्ट दिने र सरकारी संयन्त्रलाई सूचित गर्ने काम ल्याबको थियो । तर उसले मिडिया र मन्त्रीलाई रिजल्ट दियो, दिनुपर्ने अस्पताललाई दिएन ।मन्त्रीले कम्तिमा सूचना पाउनासाथ प्रेस नोट जारी गर्नुभन्दा पहिले अस्पताल र स्वास्थ्यकर्मीलाई सजग बनाउन र बिरामीबारे यथातथ्य बुझ्न आवश्यक थियो । तर अरू कसैले सूचना दिनुभन्दा अगाडि नै आफैले दिने होड़मा गलत सूचना दिए । उता खबर सुनेर कुन बिरामी हो भन्ने यकिन गर्न नसकेपछि अस्पतालका स्वास्थ्यकर्मीमा हल्लीखल्ली मच्चियो । तिनले अस्पताल प्रमुखले सूचना लुकाएको होला भनेर उनको कार्यकक्ष घेरे । तर अस्पताल प्रमुख आफै बेखबर रहेछन् । मन्त्रीले प्रवक्ता आफूमात्रै रहेकोले अर्को कसैलाई प्रवक्ता नबन्न खुला 'निर्देशन' नै दिएछन् ।

अन्यथा नलिनुहोला, स्वास्थ्यमन्त्रीले क्षमता र संवेदनशीलता दुबै देखाउन सकेजस्तो लागेन । हरेक मिनेट जबाफदेही बन्नुपर्ने बेला उनले पाहुना आएकाले बोल्न नमिल्ने बताए । लकडाउनको पूर्व सन्ध्यामैं उनले दुई सयजनाको भीड़ डाकेर पत्रकार सम्मेलन गरे । कोरोनाभाइरसको तेस्रो केसमैं उनले गलत सूचना दिए, जसलाई पछि स्वास्थ्य मन्त्रालयको विज्ञप्तिले सच्यायो ।

कम्तिमा एउटा प्रोटोकल र संवेदनशीलता देखाएको भए न गल्ती हुन्थ्यो, न स्वास्थ्यकर्मीमा आक्रोश थपिन्थ्यो । गल्ती सबैबाट हुन्छ तर कुन उद्देश्यका कारण गल्ती भयो भन्ने कुरो मुख्य हुन्छ । यो नेपालका लागि राष्ट्रिय सङ्कट हो र लड्ने सरकारले नै हो । यसमा पनि मुख्यत: मैदानमा लड्ने स्वास्थ्यकर्मी नै हुन् । हरेक बेलुका स्वास्थ्यमन्त्रीले नै सूचना ब्रेक गर्ने इच्छा राख्नु नराम्रो पनि होइन । तर २४ घण्टासम्म पनि सम्बन्धित हस्पिटल र स्वास्थ्यकर्मीले सूचना नपाउनु हामी सबैका लागि घातक हुन सक्छ ।

सीमित पीपीई भएकाले सन्दिग्ध बिरामीलाई हेर्दा स्वास्थ्यकर्मीले फूल पीपीई प्रयोग गर्दैनन् । कम्तिमा कन्फर्म्ड केसमा त सजगता अपनाउन सकिन्थ्यो होला । बिरामीले पनि सूचना पाए सतर्कता अपनाउन सक्छ । यस्तो नहुँदा स्वास्थ्यकर्मी त जोखिममा हुन्छन् नै, तिनले थाहै नपाई क्रस इन्फेक्शन बढाइरहेका हुन सक्छन् ।
ए, सरकार ! यस दिशामा अलि होइन, पूर्ण संवेदनशील बनिदिनु पर्यो !