शनिबार
१७ जेठ
२०७७

पूर्वमन्त्री गोकर्ण विष्टले भने– संकटमा परेका दैनिक ज्यालादारी श्रमिकलाई रोजीरोटीकाे व्यवस्था गर

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टले कोरोनाभाइरस (कोभिड १९)का कारण दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिकमाथि धेरै संकट थपिएको बताएका छन् । कोरोनाभाइरसको विश्वभर महामारी फैलिएसँगै नेपालमा पनि यसको संक्रमण देखिएपछि सरकारले एक साताका लागि लकडाउन गरेको छ । 

घरबाहिर निस्कन रोक लगाएपछि दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिकलाई अझ धेरै संकटमा थपेको भन्दै मन्त्री विष्टले अति जोखिममा रहेका ती श्रमिकको दैनिक रोजीरोटीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनले जनस्तरबाट समेत आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपील जारी गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत ध्यानाकर्षण गराउँदै उनले लेखेका छन्, ‘ कोभिड १९ले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिकहरूलाई अझ धेरै संकट थपेको छ । अति धेरै जोखिममा रहेका यस्ता श्रमिकहरूको दैनिक रोजीरोटीको समस्यामा सम्बन्धित निकायको ध्यान आकर्षण गर्दछु र जनस्तरबाट समेत आ(आफ्नो ठाउँबाट सक्दो सहयोगको लागि अनुरोध गर्दछु ।’