मंगलबार
१३ जेठ
२०७७

वैशाख ३ गतेसम्म लकडाउन लम्बिने, यस्तो छ कारण

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं । वैशाख ३ गतेसम्म पूरै देश लकडाउन हुने भएको छ । कोरोना भाइरसको रोकथाम र न्यूनीकरण गर्न लकडाउन नै एक मात्र विकल्प भएकाले सरकार यो निर्णयमा पुगेको हो ।यसअघि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई सेवा वैशाख ३ गतेसम्मका लागि बन्द भइसकेको छ ।

कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्नुपर्ने भएकाले पनि सरकारले वैशाख ३ गतेसम्म लकडाउनको समय थप्ने बताइएको छ ।उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिले सरकारलाई वैशाख ३ गतेसम्म लकडाउनको समय थप्न प्रस्ताव गरिसकेको छ ।

नेपालमा एक व्यक्तिबाट अर्को स्थानीय व्यक्तिमा कोरोना सरेकाले पनि सरकारले एक साता लकडाउन लम्ब्याउने निर्णय गर्न लागेको हो ।

सोमबार अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्ने निर्णय अनुमोदन गर्ने तयारी छ ।देशका सम्पूर्ण शैक्षिक संस्था चैत ३० गतेसम्मका लागि बन्द भइसकेका छन् ।

वैशाख ३ गतेसम्म लकडाउन गर्दा केही फरक नपर्ने निचोडमा सरकार पुगेको छ । किनभने कक्षा ११ र १२ को परीक्षा पनि वैशाखमा भएकाले त्यो परीक्षासँगै स्थगित माध्यमिक शिक्षा परीक्षा  (एसईई) पनि गर्ने सरकारको तयारी छ ।