मंगलबार
१३ जेठ
२०७७

प्रधानमन्त्री ओलीको पालामा काण्डैकाण्डको कीर्तिमान, के के सार्वजनिक भए ?

बिहीबार चैत २७, २०७६/ Thursday 04-09-20

काठमाडौं । मुलुक अहिले कोरोनाभाइरसको उच्च जोखिममा छ । स्वास्थ्य उपकरण नभएकाले विदेशबाट फर्केका हजारौ नेपालीको परीक्षण गर्न सकिएको छैन । दुई सातादेखि मुलुक लकडाउनमा छ । अस्पतालमा उपचार नपाई मृत्यु हुनेको संख्या यसबीचमा एक दर्जन बढी पुगिसकेको छ । तर, सरकार भने कछुवाको गतिमा हिँडेको छ ।

दुई वर्षअघि प्रधानमन्त्री भएलगत्तै केपी ओलीले भनेका थिए, देशमा अब विकासको मूल फुट्छ । सुखी नेपाली समृद्ध नेपाल । तर, उनी प्रधानमन्त्री भएदेखि भ्रष्टाचारको काण्ड सार्वजनिक हुने शृंखला अहिलेसम्म रोकिएको छैन ।

निर्वाचनका बेला नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको थियो, कम्युनिस्टले चुनाव जितेर सरकार चलाएमा भ्रष्टाचार बढ्छ । आफन्त, नातागोता, भाइभतिजावादको उदय हुन्छ । अर्थात् मुलुकमा क्रोनी क्यापिटालिज्म लागू हुन्छ ।
कांग्रेसले त्यसबेला घोषणापत्रमा उल्लेख गरेको कुरालाई जनताले पत्याएका थिएनन् । चुनावी प्रोपोगन्डा भएको बुझेका थिए ।

तर, अहिले एकपछि अर्को आर्थिक अनियमितताका विषय समाचारमा आउन थालेपछि कांग्रेसले त्यसबेला उल्लेख गरेको कुरा सत्य सावित भएको छ । अर्थात् प्रधानमन्त्री केपी ओलीले मुलुक यती ग्रुप र ओम्नी समूहलाई ठेक्कामा चलाउन दिएका रहेछन् ।

दिवंगत पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको यती समूह र ह्वाइट हाउस कलेजका सञ्चालक युवराज शर्मा तथा भाटभटेन्री सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङको ओम्नी समूहले मुलुकमा जे जति सरकारी ठेक्कापट्टा खुलेका छन्, सबै नियम कानुन संशोधन गरेर दिएको पाइएको छ ।

ओली सरकारमा रहेका कुनै पनि मन्त्री सद्दे निस्किएनन् । गोकुल बास्कोटा ७० करोड कमिसन काण्डमा पदच्यूत भए । अहिले ईश्वर पोखरेल र भानुभक्त ढकाल स्वास्थ्य सामग्री खरिदमा मुछिएका छन् । यसअघि रवीन्द्र अधिकारी वाइडबडी खरिदकाण्डमा जोडिए । विना मगरमाथि २५ करोड घूस मागेको आरोप छ ।

३३ किलो सुन तस्करी काण्ड, यातायात व्यवसायीको सिन्डिकेड, एनजीओ आईएनजीओलाई प्रधानमन्त्री र गृहमन्त्री रामबहादुर थापाको संरक्षण, निर्मला पन्तको बलात्कारपछि हत्याकाण्ड निष्कर्षमा नपुग्नु, प्रदेश सरकारका करिब एक दर्जन मन्त्री यौन दूराचारमा फस्नु, सभामुख नै बलात्कार घटनामा मुछिनुलगायत सबै ओली प्रधानमन्त्री भएकै बेला घटेका छन् ।