बिहीबार
१८ असार
२०७७

दूतावासको रात्री भोजमा पूर्वराजाका प्रतिनिधि र मधेशी नेताबीच गोप्य भेटवार्ता, के हुँदैछ मुलुकमा ?

सोमबार असार १५, २०७७/ Monday 06-29-20

काठमाडौं । लैनचौरमा भेटवार्ता भएपछि काठमाडौंको एक तारे होटेलमा भारतीय राजदूतावासले दिएको रात्रि भोजमा पूर्वराजा ज्ञानेन्द्र शाहका प्रतिनिधि र मधेशवादी दलका नेताहरुबीच भेटवार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष नेताहरुलाई दिएको रात्रि भोजको भोलिपल्ट बिहीबार पूर्वराजा शाहका प्रतिनिधि लैनचौर छिरेपछि आयोजना गरिएको रात्री भोजमा उनीहरुबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।

नेपाल–भारतबीच सीमा विवाद बढेका बेला भारतीय दूतावासको आयोजनामा भएको सो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।सीमा समस्या समाधानका लागि भारतीय सरकार वार्ताका लागि तयार नभएको नेपाल सरकारको धारणा बारम्बार आइरहेका बेला मुलुकमा फेरि राजसंस्था स्थापना र हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताउँदै आएको शक्ति र मधेशवादी दलका नेताहरुको भारतीय दूतावासको संयोजनका भेटवार्ता भएको स्रोतको दाबी छ । 

यसबारे औपचारिक रुपमा कुनै नेता बताउन चाहँदैनन् । तर, केही दिन अघि ललितपुरको झम्सिखेलस्थित तारे होटेल भिभान्तामा दूतावासले गरेको रात्रिभोजमा पूर्वराजाका प्रतिनिधि र मधेशवादी दलका नेताहरुबीच भेटवार्ता भएको हो  ।

नेपालले आफ्नो अतिक्रमित भूमिलाई समेटेर नक्सा अद्यवाधिक गरेर जारी गरेपछि भारतसँगको सम्बन्धमा चिसोपना बढेको छ । साथै सरकारले नागरिकता सम्बन्धी प्रावधानमा हेरफेर गर्ने तयारी गरेपछि मधेशवादी दलहरु पनि सरकारसँग रुष्ट बनेका छन् । यही बेला भारतीय राजदूतावासका डिसीएम अजकुमारले संयोजन गरेको रात्रिभोजमा पूर्वराजाका प्रतिनिधि र मधेशवादी दलका नेताहरुको सहभागी भएको स्रोतको दाबी छ । 

उक्त रात्रिभोजमा जनता समाजवादी पार्टीका नेताहरु लक्ष्मणलाल कर्ण, मोहम्मद इस्तिहाक राई, प्रदीप यादव,  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत तथा उनका कानुनी सल्लाहकार दीपेन्द्र झा तथा पूर्व राजपरिवारका नातेदार राजबहादुर सिंह, कपिल राणा र राहुल चौधरीलगायत सहभागी भएको स्रोतको दाबी छ । राजबहादुर पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ हुन् भने राणा शाही नातेदार हुन् । 

राहुल चौधरी नाम गरेका एक व्यापारीले सिंह र राणालाई भारतीय दूतावास लगेका थिए । दूतावासमा भएको छलफलपछि आयोजित रात्रिभोजमा मधेशवादी दलका नेताहरुलाई सहभागी गराइएको स्रोतको दाबी छ । सो भेटको भोलिपल्ट दूतावासले सिंह र राणासँग छलफल गरेको हो ।

दूतावासमा भएको छलफपछि होटेल भिभान्तामा पूर्वराजा शाहका प्रतिनिधि र मधेशवादी दलका नेताहरुबीच भेटवार्ता भएको हो । तर, सो रात्रिभोजमा उनीहरुबीच के कस्तो कुराकानी भएको हो भन्ने खुलेको छैन । तर, मुलुकमा राजतन्त्र स्थापना र हिन्दु राष्ट्र कायम गराउने गरी छलफल भएको अनुमान गरिएको छ । 

याे पनि पढ्नुहाेस् ः फेरि नेपालमा राजतन्त्र स्थापनाको खेल, झम्सिखेलको तारे होटेलमा के के भयो ?