बिहीबार
१८ असार
२०७७

सरकारले लकडाउनको समय थपेसँगै ट्याक्सी व्यवसायी सडकमा उत्रिए, तीन सय ट्याक्सी नियन्त्रणमा

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौं । सरकारले लकडाउनको समय आगामी साउन ७ गतेसम्म थप्ने निर्णय गरेको छ । सरकारको यो घोषणासँगै ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् । लकडाउन थप गरेर सरकारले काम गर्न नदिएर भोकभोकै मार्न खोजेको भन्दै ट्याक्सी व्यवसायीले मंगलबार बिहान काठमाडौंमा प्रदर्शन गरेका छन् ।

ट्याक्सी चालकहरुले काठमाडौंको बानेश्वर, तीनकुने सडकमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।  प्रदर्शनमा उत्रिएका तीन सय बढी ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगन्ज, गोंगबुलगायतका क्षेत्रबाट ट्यक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्याक्सी विशेष समितिले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने भन्दै यातायात व्यवस्था विभागलाई ज्ञापनपत्रसमेत बुझाएको छ । ट्याक्सी ब्यवसायीले सुरक्षा अपनाएर निर्वाध काम गर्न दिनुपर्ने माग अघि सारेका छन् । चैत ११ गतेदेखि ट्याक्सी सञ्चालनमा आएका छैनन् । तर, पछिल्ला दिन फाट्टफुट्ट रुपमा ट्याक्सी सडकमा गुड्दै आएका थिए । ती ट्याक्सीलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ ।