बिहीबार
१८ असार
२०७७

नेकपाको स्थगित स्थायी कमिटीको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले आफूलाई हटाउन खोजिएको भन्ने अभिव्यक्तिबारे बहस हुने

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवारटारमा बस्दैछ। आज बस्ने बैठकमा बोल्न बाँकी रहेका २४ स्थायी कमिटी सदस्यले आफ्नो धारणा राख्नेछन् । अहिलेसम्म २१ सदस्यले बोलिसकेका छन् ।

स्थायी कमिटीको पाँचौं बैठकमा सातवटा एजेन्डा तय गरी छलफल भइरहेको छ । नेकपाको बैठकमा सरकारको काम, पार्टी एकताको काम, एमसिसी लगायतका विषय एजेन्डामा छन्।शुक्रबार र शनिबारको बैठकमा सीमा समस्या र समाधानका विषयमा छलफल भएका छन्। 

आइतबार ओलीले भारत र नेपालका शक्तिलाई आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपाको आजको बैठकमा नेताहरूले कस्तो धारणा राख्लान् भन्ने सर्वत्र चासो छ। प्रधानमन्त्री ओलीले अपेक्षाकृत काम नगरेको र विवादित काम गरेको भन्दै गत वैशाखदेखि पार्टीभित्रैबाट उनको विकल्पको माग उठिरहेको छ ।

तर, ओलीले आफूलाई कसैले हटाउन नसकिने बताउँदै आएका छन् । उनले आफूलाई हटाउने तागत कसैको छैन भन्ने चुनौती पनि दिएका छन् । स्थायी कमिटी बैठकमा एक दिन लामो समय उपस्थित भएका ओली त्यसपछि सहभागी भएका छैनन् ।