बिहीबार
१८ असार
२०७७

अर्थमन्त्री खतिवडाको विज्ञता, रेमिट्यान्स घट्न नदिन युवाहरूलाई विदेश जान प्रेरित गर्ने

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थमन्त्री र राष्ट्रिय सभाको सांसद सबै बक्सिसमा पाउँदै आएका डा.युवराज खतिवडा निकै भाग्यमानी मानिन्छन् । तत्कालीन नेकपा एमालेको चौवन्नी सदस्य लिएर पूर्णकालीन राजनीतिमा लाग्ने नेताभन्दा पनि बढी अवसर पाएका खतिवडाकै कारण वर्तमान केपी ओली सरकार विवादमा परेको छ । जनतामा आलोचित भएको छ ।

नयाँ योजना केही ल्याउन नसक्ने, हरेक क्षेत्र र वस्तुमा कर लगाउने भनेर उनलाई करमन्त्री भनेरसमेत विशेषण दिने गरिएको छ । नेपालको इतिहासमा खतिवडा जति विवादमा आएका अर्थमन्त्री सायदै थिएनन् । सोमबार मात्र उनले दिएको अभिव्यक्तिले फेरि अर्थमन्त्रीको आलोचना सुरु भएको छ ।
 
‘रेमिटान्स घट्न नदिन युवाहरुलाई विदेश जान प्रेरित गर्ने’ उनको अभिव्यक्तिले अर्थमन्त्री कतिसम्म विज्ञता रहेछन् ? भन्ने पुष्टि हुन्छ । युवाहरूको श्रम, सीप र योग्यतालाई आफ्नै देशमा आयात गराउन प्रोत्साहन गर्नुपर्नेमा निर्यात गरेर कहिलेसम्म देशको अर्थतन्त्र धान्न सकिन्छ ? सम्पूर्ण युवा जनशक्तिलाई देशमा रोजगारीको सिर्जना गरेर देश बनाउने योजना ल्याउनुपर्नेमा भएका जनशक्तिलाई फेरि विदेश जान प्रेरित गर्न खोज्नु भनेको सरकारको नालायकीपन हो । 

भविष्य बनाउने सोचमा लाखौं ऋण लिएर जाने मुलुकका युवा पुस्ता बाकसमा फर्किरहेका छन् । हालै मात्र विदेशमा रोजगारीमा गएका ५० जनाभन्दा बढी नेपालीको शव ल्याइएको सरकारलाई थाहा छ । तर, रेमिट्यान्सको लोभमा फेरि युवाहरूलाई विदेश पठाउन खोज्नुले अर्थमन्त्री खतिवडाको योग्यता र विज्ञता कतिसम्म रहेछ भन्ने प्रस्ट हुन्छ ।

यिनै अर्थमन्त्री हुन् जसले कोरोनाले नेपालको अर्थतन्त्रलाई केही फरक पार्दैन भन्ने । यस्तो महामारीका बेला पनि मुलुकको आर्थिक वृद्धि ७ प्रतिशत हुन्छ भन्ने खतिवडा नै हुन् । तर, केही दिनअघि मात्रै उनले सरकारी कर्मचारीलाई तलब खुवाउने पैसासमेत छैन भनेर यिनैले सार्वजनिक गरे । 

त्यसपछि मात्र हो सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेको । लकडाउनमा पनि जनतासँग कर असुल्न छाडिएको छैन । यो १५ दिनको अवधिमा ५० अर्बभन्दा बढी राजस्व उठिसकेको छ । यो परिमाणमा राजस्व उठेपछि खतिवडा अहिले दंग छन् । भन्छन्, कोरोनाले नेपाललाई त्यति ठूलो असर गरेको छैन ।