शनिबार
२४ श्रावण
२०७७

ओली सरकारमाथि खनिए गगन थापा, भन्छन्, कोरोना भुसको आगोझैं फैलिँदा पनि छैन चिन्ता

शुक्रबार श्रावण १६, २०७७/ Friday 07-31-20

काठमाडौं - नेपालमा लकडाउन खुकुलो भए लगत्तै कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । यसैबीच नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले कोरोनाभाइरस भुसको आगो झै फैलिएको भन्दै सरकारको कामको बारेमा असन्तुष्टि जनाएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त रहेको र ‪स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त रहेको बताएका छन् । उनले कोरोनाभाइरसको संक्रमण फैलिदै गएको बताउदै भने - 'भुसको आगोझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ।' 

उनले फेसबुकमा भनेका छन् - ' प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त!‬ ‪स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त!‬ भुसको आगाेझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ। बालुवाटार को पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो!'‬