शनिबार
२४ श्रावण
२०७७

ओलीमाथिको घेराबन्दी प्रचण्ड आफैंलाई ‘ब्याक फायर’

शुक्रबार श्रावण १६, २०७७/ Friday 07-31-20

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको घेराबन्दी अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंलाई ‘ब्याक फायर’ भएको छ । गत फागुनबाट नेकपा आन्तरिक किचलोमा फस्दै आएको छ । त्यसयता पार्टीभित्रको सन्तुलन र विवाद मिलाउन केही जिम्मेवारी थपघट गरियो । मौजुदा प्रतिनिधिसभाको अवधिभर ओली नै प्रधानमन्त्री रहने र प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको थियो । प्रचण्डले बैठक राख्न सक्ने गरी सहमति भएको थियो । 

तर, मुलुक कोरोनाभाइरसको चपेटामा परेका बेला प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने प्रचण्डसहितका नेताहरुले अभिव्यक्ति दिए । र आफूनिकटका स्थायी कमिटी सदस्यहरुलाई बैठक बोलाउन हस्ताक्षर संकलन गरेर बुझाउन लगाए । जसअनुसार गत असार १० गतेबाट स्थायी कमिटी बैठक सुरु भयो ।  सो बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले   प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरे । सो मागसँगै नेकपाको विवादले उत्कर्ष रुपमा लियो । त्यसयता पटक पटक स्थागित हुँदै आएको स्थायी कमिटी बैठक अहिले अनिश्चितकालका लागि स्थगित भएको छ । 

यही साउन १३ गते मंगलबारका लागि बोलाइएको स्थायी कमिटीको बैठक ओलीले निनिश्चितकालका लागि स्थगित गरे । त्यसपछि प्रचण्ड, नेपाल, खनालसहितका नेताहरुले सोही दिन बालुवाटारमै बैठक राखे । प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई घेराबन्दी बनाउने गतिविधिले प्रचण्ड स्वयंलाई ब्याक फायर गरेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

बालुवाटारमा बैठक राख्दा कोरोम नपुगेपछि प्रचण्ड र खनाल ओलीलाई भेट्न पुगेको र नेपालले अरु नेताहरुलाई बैठकमा आउन हारगुहार गरेको भन्ने बाहिरिएको खबरले प्रचण्डको पार्टीभित्रको क्षमतालाई प्रष्ट्याएको टिप्पणी हुन थालेको छ । 

पछिल्लो समय पार्टी एकतालाई नै असर गर्ने गरी भइरहेका गतिविधिले प्रचण्डको साथमा रहेका केही नेताहरु अलग्गिँदैछन् । रामबहादुर थापा, हरिबोल गजुरेल, लेखराज भट्ट, मणिथापालगायत एक दर्जन नेताहरुले प्रचण्डको साथमा छोडेका छन् । जसले प्रचण्डलाई पार्टीभित्र कमजोर बनाउँदै लगेको छ । 

मंगलबार बालुवाटारमा जबरजस्ती कोरम पु¥याएर राखेको बैठकबाट ठोस र प्रभावकारी निर्णय गराउन नसकेका कार्यकारी अध्यक्ष प्रचण्ड स्वयंलाई गम्भीर असर गरेको छ । सो बैठकबाट ठोस निर्णय गराउन मात्रै होइन आगामी बैठकको मितिसमेत तोक्ने नसकेका प्रचण्डको आलोचना भइरहेको छ ।